1 July 2012

बाग्लुङ जिल्लाको परिचय

बाग्लुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल सदरमुकामको रुपमा रहेको छ । झोलुङ्गे पुलको जिल्लाको उपनामले समेत परिचित यस जिल्ला झण्डै नेपालको नक्सासँग मिल्दोजुल्दो आकारमा पूर्व-पश्चिम भै फैलिएको छ । यस जिल्लाको सदरमुकाम सुदूर पूर्व कुनामा अवस्थित बाग्लुङ बजार हो । कुल १७८४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस जिल्लालाई ३ संसदीय क्षेत्र, १३ इलाका, १ नगरपालिका र ५९ गा.वि.स.हरुमा विभाजन गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोटकोटबाट भूरेटाकुरे राजाहरुले राज्य चलाउँदथे । ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट, विहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्छन् ।
चौधौ शताव्दीमा जुम्लामा राजाहरुले आफ्नो राज्य विस्तार गर्ने क्रममा वि.सं १४२९ तिर मलेबम् जुम्लाको राजगद्दीमा बसेपछि पूर्वतर्फका धेरै राज्यहरु जिते । बाग्लुङ जिल्लाका निशेल भुजेल भन्ने चारहजार पर्वत इलाकामा त्यस बेला मगरहरुको रजाइँ थियो । जुन समयमा रुकुममा मलेबमका छोरा पिताम्बर र नाति जैतुबमले शासन चलाएका थिए । मगर राजाहरुले यस जिल्लाको राज्य प्रभावकारी रुपमा संचालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबम्का आठ भाइ राजकुमार मध्ये एउटा मागे । राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकोले राती सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवम्को शिरतिर बढेको देखेर उनलाई पिठ्युँमा बोकेर भुजेलहरुले पर्वतमा ल्याए । पर्वतेहरुले यी राजालाई तीन नामले पुकार्दथे । गोथामबाट ल्याएको गोथम्ब, पिठ्युँमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरु पनि आएको किम्बदन्ती छ । वि.सं १५१० तिर आनन्दवम् सोलेपार पर्वतका राजा बने । त्यस वेलासम्म पनि गल्कोट, विहुँकोट र चन्द्रकोटामा भुरे राजाहरुले राज्य गर्दथे जसमध्ये बलेवा र बाग्लुङ माझकोट अन्तरगत र थन्थाप चन्द्रकोट अन्तरगत थिए ।
आनन्द बम् र चन्द्रबम् पछि डिम्ब नामको दिलिपले आफ्नो शासनकालमा विहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुर्याए । उनले राज्यमा सु-व्यावस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाईलाई विहुँकोट र कान्छा भाईलाई गल्कोटमा राखेका थिए । राजा डिम्व वर्षायाममा ढोरमा र हिउँदमा ताकममा वसी राज्य चलाउँथे । हृयामिलटनको भनाइ अनुसार गल्कोट एउटा सानो राज्य थियो जहाँ ३००० घरहरु थिए । राजाको दरबार पहाडको टाकुरामा थियो । त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरु थिए । यहाँ ३ वटा तामा र १ फलाम खानी थियो । खानीहरुमा केही आधिकारीक व्यक्तिहरुले मात्र काम गर्न पाउँथे । राजाको बार्षिक आम्दानी ३५०० रुपैयाँ थियो । यहाँका राजाले विना कुनै युद्ध नै गोर्खाली सेना अगाडी र्समर्पण गरेका थिए ।
यस गल्कोट राज्यको बारेमा कर्क प्याटि्रकले पनि लेखेका छन् । उनको भनाइ अनुसार गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो । यो गल्कोट चौविसी राजाहरु मध्ये एक थियो । एक वंशावली अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरुले दिल्लीका बादशाह कहाँ पाँच-पाँच वर्षमा सिर्तो लैजाने गर्दथे । त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विणा, वाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे । राजा डिम्बले पनि युवराज नागवम्लाई वि.सं १५३० तिर दिल्ली पठाए । बादशाहबाट “मल्ल” भन्ने पद्वी दिईएको हुँदा युवराज नागवम् त्यसवेलादेखि नागवम् मल्ल भए । यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरुले मल्ल राज्य भनी नाउँ राखे, जुन आज पनि राजभक्ति देखाएकोले मल्लाजको नामले प्रसिद्ध छ ।
राजा डिम्व १२० वर्षसम्म बाँचेका थिए भन्ने जनश्रुति छ । यिनले ८४ वर्षो उमेरमा आफ्नो जेठा छोरा नागवम् पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई वि.सं.१५९० तिर पर्वतको राज्य सुम्पे । यिनको शासनकालमा यहाँ प्रशस्त मात्रामा जङगल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो । नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो । प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे । पाल्पाली राजाले छोरीलाई कालिका देवीको मुर्ती दाईजो दिएर पठाए । हाल सो मुर्ती बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ बजार नजिक कृष्ण गण्डकी र काठेखोलाको दोभान निर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवति देविको नामले प्रसिद्ध छ । देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पुजारी बनाए । राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नुहुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ । यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए । राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए । यिनको करीव ३० वर्षो शासनकाल पछाडि आफ्ना जेठा छोरा किरातीवम् मल्ललाई गल्कोट, माहिला राजवम् मल्ललाई पर्वत र कान्छा कल्याणवम् मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए । पृथ्वीनारायण शाहको नेपालको एकिकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बाग्लुङ समेत नेपाल अधिराज्यमा गाभियो ।

जिल्लाको नामाकरण

जिल्लाको नाम बाग्लुङ रहनुमा अर्थात बाग्लुङ शब्दको व्युत्पत्तिको थुपै्र किम्बदन्तीहरु रहेको पाइन्छ । जस अनुसार संस्कृत भाषामा व्यांघ्रालुनाति , व्याघ्र बाघ, लुनातिको अर्थ लुञ, अर्थात “ब्याघ्रलुञ” व्याघ्र बाघ र लुञको अर्थ छेद्नु /काट्नु वा मास्नु हो । कुनै समयमा यस ठाउँमा बाघै बाघहरुको ताँती हुनुको कारण यहाँको जनजीवन अति नै भयावह थियो । यस्तो डरलाग्दो वा दयनिय अवस्थालाई देखेर त्यस वेलामा मगराती जातीका बलिया व्यक्तिहरुको समूहहरुको सकृयतामा ती बाघहरुलाई छेद्ने/काट्ने वा मास्ने जस्ता काम गरेका हुँदा बाघहरुलाई मास्ने उद्देश्यले गरेको कार्यको अर्थमा यस ठाउँको नाम “बाघ्रलुञ वा ब्याघ्रलु” रहन गई अपभ्रंश भई बाग्लुङ रहन गएको मानिन्छ ।
त्यस्तै गरी बाघ प्रचलित खस भाषा हो । “लुङ” को अर्थ लस्कर वा ताँती , पंक्तिवद्ध वा लामको अर्थलाई जनाउँछ । त्यस समयमा बाघहरुको लस्कर लाग्ने थलो भएकोले यस ठाउँको नाम “बाघलुङ” रहन गएको र पछि वागलुङ भएको हेा भन्ने भनाई पनि रहेको छ । तिब्वती भाषामा “वाग” को अर्थ कहीं केही उठेको खण्ड र “लुङ” को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ । यर्सथ “बाग्लुङ” को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा समथर जमिनको भाग भएकोले पनि यस ठाउँको नाम बाग्लुङ रहन गएको हो भन्ने प्रष्ट हुन्छ ।

सारंशमा बाग्लुङ जिल्ला

अक्षांस: २८ डिग्री १५ मिनेटदेखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांस
देशान्तर: ८३ डिग्री देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तर
सीमाना: पूर्वमा पर्वत, पश्चिममा रोल्पा र रुकुम, उत्तरमा म्याग्दी, दक्षिणमा प्युठान र गुल्मी जिल्ला
क्षेत्रफल: १७८४ वर्ग किलोमिटर
औषत लम्बाई:८२५०० मिटर
औषत चौर्डाई:२३८१५ मिटर
भौगोलिक विभाजन: पहाड
श्रोत : केन्द्रीय तथ्यांक विभाग

No comments:

Post a Comment