14 March 2011

रात पर्नु अगाडि


       अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल नै लाग्दैन,लागेको कल ऊ उठाउँदैन,कदाचित उठाइ हाले पनि सरी बिनु,अहिले म एकदम बिजी छुभनी फोन राखिहाल्छ। उसको यो व्यस्तता भनौँ या उपेक्षा,मलाई पचाउन गाह्रो परिरहेको छ।

    ऊ त्यही प्रमोद थियो जो मसँग सँगै बाँच्ने र मर्ने वाचा गर्थ्यो। मेरो व्यस्ततामा पनि झिँझो नमानी मेरो निम्ति घण्टौ पर्खन सक्थ्यो अनि मसँग भेट्न कस्तै बाधा अड्चनहरुको पनि परवाह गर्दैनथ्यो। अहिले परिस्थिति उल्टिएको छ। म उसलाई भेट्न र आइ परेको समस्या अवगत गराउन आतुर छु। ऊ भने मेरो कुनै वास्ता गरिरहेकै छैन। ऊ मसँग कुन बेलाको साटो फेर्न खोजिरहेछ,उही जानोस् ,मैले त मात्र केही मिनेट भेटेर ऊसँग कुरा गर्न चाहेकी हुँ।