14 March 2011

रात पर्नु अगाडि


       अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल नै लाग्दैन,लागेको कल ऊ उठाउँदैन,कदाचित उठाइ हाले पनि सरी बिनु,अहिले म एकदम बिजी छुभनी फोन राखिहाल्छ। उसको यो व्यस्तता भनौँ या उपेक्षा,मलाई पचाउन गाह्रो परिरहेको छ।

    ऊ त्यही प्रमोद थियो जो मसँग सँगै बाँच्ने र मर्ने वाचा गर्थ्यो। मेरो व्यस्ततामा पनि झिँझो नमानी मेरो निम्ति घण्टौ पर्खन सक्थ्यो अनि मसँग भेट्न कस्तै बाधा अड्चनहरुको पनि परवाह गर्दैनथ्यो। अहिले परिस्थिति उल्टिएको छ। म उसलाई भेट्न र आइ परेको समस्या अवगत गराउन आतुर छु। ऊ भने मेरो कुनै वास्ता गरिरहेकै छैन। ऊ मसँग कुन बेलाको साटो फेर्न खोजिरहेछ,उही जानोस् ,मैले त मात्र केही मिनेट भेटेर ऊसँग कुरा गर्न चाहेकी हुँ।
      
प्रमोदको यो उपेक्षामा आहतम सिधै उसको अफिस गएर झगडा पनि गर्न सक्छु तर आफूलाई त्यति तलसम्म गिराउन चाहन्न। उसलाई फोन गर्ने अन्तिम प्रयास गर्छुसंयोगवश फोन लागिहाल्छ। प्रमोद प्लीज,एकै छिनको समय देऊ मलाई। तिमीसँग जरुरी कुरा गर्नु छ।” उसले नाइँनास्ती गर्नु वा कुनै बहाना बनाउनु अघि म आफ्नो भन्न सकाउँछु। ऊ एकछिन बोल्दैन। केहीबेरको मौनतापछि उसले अफिसपछि घर आउन सकार्छ। पाँच बज्न अझै दुइ घण्टा बाँकी छ। प्रतिक्षाको यो अवधि दुइ घण्टा हैनदुइ दशक जत्तिको लागिरहेछ। झ्याल खोल्छु,बारीमा सयपत्रीका बोटहरु ओइलिएका छन्। बढ्दो गर्मी,कोठामा यताउता गर्छु,बस्छु,उभिन्छु,मनभित्रको छटपटी कम हुँदैन। अगाडिको भित्ते घडीका सुइराहरु अलिकति पनि अघि बढे झैँ लाग्दैन। मोबाइल निकाल्छु,चार्ज पनि सकिन लागेको ख्यालै भएन। कतै मोबाइलमा चार्ज सकेर प्रमोदले कल गरेको थाहा नपाउँला भनी घरिघरि ल्याण्ड फोन सेट चेक गर्छु।कोठाको ड्रेसिङ्ग टेबुलमा भएको लामो ऐनाअघि उभिन्छु। तलदेखि माथिसम्म हेर्छु आफैलाई। कति छिटो ओइलाए सरी देखिएछु,कस्तो कस्तो,अप्ठयारो अनुभूति। प्रमोद आयो भने,के भन्ने,कसरी भन्ने,कसरी मनाउने उसलाई! विरक्तिएर फर्केरफेरि सोफामै बस्छु।
   पर्खनु जत्तिको गाह्रो र पीडादायी के हुन्थ्यो रफेरि फोन गर्न लाग्दा,सवा पाँचतिर ढोका अगाडि मोटरसाइकलको आवाज सुन्छु,प्रमोद आए जस्तो छ। ऊ सिधै मेरो कोठामा आउँछ,“के भो,किन आत्तेकी?” आउने बित्तिकै ऊ प्रश्न गर्छ। कस्तो हतारबस न,तिमी त ढोकैबाट बाहिरिने मूडमा आएका जस्ता छौ।” म उसलाई कुरा कहाँबाट थाल्ने बिचार गर्दै हुन्छु। ऊ भित्र आएर सोफामा बस्छ र कुरा सुन्नको लागि मेरो मुख हेर्न थाल्छ। म उसको सामुन्ने सोफामा बस्छु। एक अर्कालाई हेरिरहेका छौँ,बोल्नको लागि शब्द दुबैबाट निस्किरहेका छैनन्। के पर्‍यो बिनु?” उसको आवाजमा आएको कोमलता महशुश गरेर ममा केही साहस पलाउँछ। प्रमोद अब हामीले बिहे गर्नुपर्छ। उमेर भैसकेको छ भनेर घरमा निकै कर गर्न थालिसकियो। अहिले बिहे गर्न तिमीलाई के आपत्ति छ,भन त?” “बिहे गरौँला,अहिले नै के हतार छ रदुइचार वर्ष घुमौँला,एकअर्कालाई राम्रोसँग बुझौँला अनि पो नयाँ जीवन शुरु गर्नु पर्छ।” उसको सहज तर लापरवाहपूर्ण जवाफले स्तब्ध हुन्छु। अब यो भन्दा बढी हामीले एकअर्कालाई के बुझनु पर्‍यो प्रमोद,यो सीमासम्म नै बुझिसकेपछिके तिमीले अझै बुझ्न बाँकी छ र मलाई?” उसले कुरा नबुझेर हो वा बुझ पचाएर मतिर हेर्छ। बर्षदिनभन्दा बढी भैसक्यो हाम्रो सम्बन्ध। झन अस्तिको भ्यालेन्टाइन डे पछि त….” मेरा शब्दहरु घाँटीमै अड्किन्छन्। बिनु,यस्तो सानो सानो कुरामा पनि टेन्शन लिई बस्ने होहामीले यसरी नै एक अर्कालाई बुझ्ने त हो। बिहेपछि पछुताउनु भन्दा अगाडि नैहरेक कोणबाट साथीलाई आँक्नुु बुध्दिमानी हुन्छ। यदि पछि कुनै कुरामा तिमीलाई पनि म चित्त बुझिँन भने,मलाई बताएर सम्बन्ध तोड््न सक्छौ,बिर्सन सक्छौ मलाई। शुरुमा अलि गाह्रो होला तर जिन्दगीभरी पछुताउनु भन्दा राम्रो हैन रकेही हुँदैन,चिन्ता नगर। चियर अप। इट्स आवर लाइफ बेबी।” ऊ कति बेला कोठाबाट बाहिरियो,थाहै भएन। दिदी,किन अँध्यारोमा बस्नुभाको?” बहिनी कोठामा बत्ति बाल्दै सोध्छे, “चिया खानुहुन्छ?” “तिमी खाऊ। मेरो सानो काम छ।” बहिनी ढोका ढप्काएर बाहिर निस्कन्छे। कसैलाई सम्पूर्ण रुपमा विश्वास गरेर,पूर्णतया खाली भएकी छु,म आफूभित्र। आफूलाई फेरि ऐना अगाडि उभ्याउँछु र नियाल्छु। भर्खर छब्बिस लागेँ,त्यति उमेर गैसकेको पनि हैन। देख्नमा नराम्री पनि छैन,जिउडाल मिलेकै छ तर प्रमोदले उपेक्षा गरे झैँ किन महशुश भैरहेछ मलाई!
   सिरानी मुनिबाट कार्ड निकाल्छु,प्रमोदले भ्यालेन्टाइन डे को दिन दिएको हलमार्कको कार्ड हो यो। उसले हातले लेखेको छ, ‘मेरी भ्यालेन्टाइन बिनुलाई,वीथ लभ। उसको नाम मुन्तिर मेरो लिपस्टिकको छाप छ। कार्ड पाउने बित्तिकै मैले उसको नाम चुमेकी थिएँ,आखिर पागल जो छु। आँखा रसाउँछ। उसैको नाममाथि एक थोपा आँसु,रोक्दारोक्दै झरिहाल्छ।
   भ्यालेन्टाइन डेबिहानैदेखि मन खुशीले तरँगित थियो। त्यो दिन शशीले बोलाएकी थिई,दुइचार जना साथीहरु मिलेर गेटटुगेदर गर्नुपर्छ भन्थी। तर मेरो आफ्नै प्रोग्राम थियो,उसकोमा जाने कुरै भएन। प्रमोदले बिहानै मेसेज गरेको थियो,त्यो दिनलाई अविस्मरणीय बनाउने,घुम्ने,बाहिर डिनर गर्ने भनेर। हाम्रो प्रोग्राममा अरु पनि साथीहरु सामेल छन् भनी घरमा ढाँटेँ र बिहानै निस्केकी थिएँ ऊसँग। हामी दुइचार मन्दिरहरु गएर,घुमेका र बसेका थियौँ। त्यहाँ अरु पनि थुप्रै आएका थिए,डेटिङमा। यस्तो भीडभाडमा यिनीहरुसँग मिसिएर के बस्नुजाउँ कतै,जहाँ सिर्फ तिमी र म मात्र रहँु।” प्रमोदले मेरो आँखामा डुबेर भनेको थियो। बिशेष दिनमा बिशेष व्यक्तिको बिशेष अनुरोध,म टार्न कहाँ सक्थेँलङ्ग ड्राइभमा निस्कने कुरा हुनेे बित्तिकैतत्कालै मोटरसाइकलबाट धुलिखेल जाने प्रोग्राम बनेको थियो। काठमाण्डौको प्रदुषणदेखि टाढा,हरियाली र स्वतन्त्रतावीच प्रमोदसँगको सामिप्यतामा मैले आफूलाई निकै भाग्यशाली ठानेकी थिएँ। माया र निकै केयर गर्ने प्रमोद देखेर केही साथीहरु जल्थे पनिउसलाई त्यो कुरा सुनाएर हामी निकै हाँसेका थियौँ। रेष्टुँरामा लन्चपछि एउटा रुखमा दुबैको नाम खोपेर त्यहाँको हरियालीलाई हामीले आफ्नो मायाको साक्षी बनायौँ। दिन यत्ति रमाइलोसँग बित्यो समय गुजि्रएको मैले चालै पाएकी थिइँन। कमलो घाम,जँगली फूलका लहरामा छेलिएरफर्कन लाग्दा प्रमोदले पहिलोपल्ट मेरो ओठको चुम्बन लिएको थियो। लज्जावती झार झैँ लाजले र उसको स्पर्शको नशाले मदहोश,मैले आँखै उठाउन सकेकी थिइँन। त्यहाँबाट हामी कतिबेला होटल पुग्यौँ,कति बेला उसले मलाई माया गर्‍यो ,मैले बिरोध गरीँ या गरिँन,केही होशै भएन। होेश आउँदा साँझ पर्न थालिसकेको थियो। पर आकाशमा कतै रक्तिम बादलहरु एकै डल्ला बनेका थिए। भ्यालेन्टाइन डे को मीठो र पहिलो स्पर्शको सम्झना सँगालेर घर फर्कँदा रातै परिसकेको थियो। बाहिर खाएर आइसकेको बहानामा मैले राती घरमा खाना पनि खाइँन। जिउभरी प्रमोदको अँगालो र म्वाईका स्पर्शले आल्हादित न मलाई भोकै लाग्यो न म रातभरी सुत्न सकेकी थिएँ।
          प्रमोदलाई म पहिला पनि धेरै माया गर्थेँ,अब झन बढी उसको यादले सताउन थाल्यो। दिनरात उसको सम्झनामा एकोहोरिएको देखेर बहिनी मलाई चिमोट्दै जिस्काउँथी। शायद यो अति मायाले प्रमोदप्रति म एकाधिकार खोज्न थालेँ। कुनै दिन उसको फोन नआउँदा वा भेटमा थोरै ढिलो भए पनि म ऊसँग औधि रिसाउँथेँ। उसलाई सधैँभरी आफ्नो आँखा अगाडि देख्न चाहनु मेरो इच्छा,कुनै बेमानी पनि त थिएन। दिनपछि हप्ता र महिना,ममा थोरै आशँकाहरु जन्मिन थाले। प्रमोद अफिसबाट पाँच वर्षको लागि बाहिर जाँदै थियो। बिनु,पाँच वर्ष अमेरीका … … त्यसपछि त प्रमोशनसोलिड!” जुन दिन उसले मलाई यो खबर सुनायो,ऊ धेरै खुशी देखिन्थ्यो तर म खुशी हुन सकिँन,उसको त्यो खुशीमा पनि। मेरो बेखुशीको कारण उसलाई बताउन निकै चोटी प्रयास गरेँ,समय जुरेन। उसको मूड मिल्दैनथ्यो,सबैभन्दा ठूलो कुरा उसको खुशी बिटुल्याउने मैले साहस नै जुटाउन सकिँन। सधैँ मेरो अघिपछि घुम्ने प्रमोद,अब ऊसँग मेरोलागि समय निकै कम उपलब्ध हुन थालेको थियो।
 ‘बिनु म बिजी छु,बिनु मेरो मिटिङ छसरी बिनु…’ यस्ता यति धेरै बाध्यता र ब्यस्ततावीच मेरो उपस्थितिलाई प्रमोदले कम महत्व दिन थालेको महशुश गर्न थालेकी छु अचेल। यही कुराले मलाई सबैभन्दा बढी आहत तुल्याउँछ। ऊ यसरी परिवर्तन हुन सक्दैन,परिवर्तन भएको हैन भनेर निकै सम्झाएकी छुआफ्नो मनलाई। ऊ परिवर्तन भएको नहोला तर ऊसँग मेरो दिनहुँ भेट पनि हुँदैन। भेट हुँदा उसमा पहिलेको झैँ उमंग र खुशी पनि देख्दिन। जहाँ म उसलाई देखेर भाव विह्वल हुन्छु,प्रमोद आफूलाई एकदम स्वाभाविक र सामान्य देखाउँछ,मानौँ मेरा लागि उसमा थप अन्तरंगता पलाएकै छैन। अचेल मलाई कतै बाहिर जान मन लाग्दैन। घरपरिवारसँग नजिक बस्न अप्ठयारो लाग्छ। सबै साथीसँगीहरु मलाई नै क्वारक्वार्ती हेरेर कानेखुशी गर्छन् जस्तो महशुश गर्छु। पहिले म यस्ती थिइँन तर अचेल अन्तरमुखि बन्दै ओइलाउँदै गैरहेकी छु।
ऊ अमेरीका उड्ने एक हप्ता अगाडि म उसलाई कफि क्याफेमा बोलाउँछु, “प्रमोद हामी कोर्टम्यारिज गरौँ। धेरै ढिलो भैसक्यो।” ऊ जिल्ल पर्छ, “अहिले नैमलाई अमेरीका गएर फर्कन त देऊ बिनु,त्यस्तो साह्रो के पर्‍योतिमी आखिर किन बताइरहेकी छैनौ?”
दुइ महिना भैसक्यो …. …. ….टेन्शन भैरहेछ। हाम्रो गल्तीको परिणाम सुधार्न अब केही गर्नै पर्छ प्रमोद,हाम्रो मायाको खातिर। म अब तिम्रो कुनै पनि कुरा सुन्दिन।” ऊ सिर्फ सुनिरहन्छ,केही भन्दैन मलाई,कुनै निर्णय दिँदैन। भोलिपल्ट साँझ ऊ घर आउँछ। रकमको बिटा अगाडि राखी यो समस्याबाट हल्का हुन अनुरोध गर्छ। ऊ अहिले नै बिहेको पक्षमा नभएको र आउँदो चार पाँच वर्ष क्यारिएरमा नै ध्यान दिन चाहेको आफ्नो निर्णय सुनाउँछ। यदि मलाई बिहेको हतारो भए अन्त कतै बिहे गर्न पनि ऊ सुझाव दिन्छ। आइ एम सरी बिनु,मलाई बिर्सिदिनु।” बिर्सनलाई कति सजिलै भन्न सकेको छ उसले। यदि कसैले भन्ने बित्तिकै यति सजिलै बिर्सिन सक्ने भए मान्छे दुःखि र पागल किन हुन्थे होलान्अनेक तर्कनाहरु आइरहेछन्। के प्रमोदले मलाई माया गरेको थिएनके मात्र ऊ मेरो शरीरतिर आकर्षित थियोहैन हैन,ऊ पनि मलाई त्यत्तिकै माया गर्छ,’ म आफ्नो मनलाई जित्ने प्रयास गर्छु। अगाडि तेर्सिएको यो समस्या कसरी हल गरुँ ,घरमा भन्न सक्दिन,प्रमोद अहिले बिहे गर्ने पक्षमा नभएको मात्र हैन,उसको बुवा अन्तरजातीय बिहेका कट्टर बिरोधी भन्ने पनि सुनेकी छु। मनमा चलिरहेको आँधीवीच बाहिर कसैको नवजात शिशु रोएको सुन्छु,मलाई झन डर लाग्छ। घरपरिवार,आफन्त र समाजले मेरो बढिरहेको शरीरलाई औँला ठड्याउन थाले झैँ लाग्छ,म सहाराको लागि प्रमोदलाई खोज्छु तर प्रमोद मेरो आसपास कतै हुँदैन। निरीह र भयभित,आत्मग्लानीमा सहारा विना म कति धेरै एक्ली भएकी छु।
बिनु! ओइके भयो तिमीलाईकिन त्यसरी झुकेर बसेकी?” प्रमोद मेरो काँध समाउँदै झक्झक्याउँदै हुन्छ। म तन्द्राबाट झसङ्ग हुन्छु। वर्षौँ अघिको यात्राबाट फर्कँदा थाके झैँ मन गलेको छ। एकछिन अघिसम्मको घटना यथार्थ हो वा कल्पना,एकैछिन त छुट्याउनै गाह्रो पर्छ। मन,दिमाग कहाँ उडेको थियो खै कुन्निकिन! आफूलाई नियाल्छु,कहीँ केही अस्वाभाविक छैन। सरी बिनु,मैले कान समातेँ,ट्राफिक जाम नभएको भए,आधा घण्टा अघि नै आइपुग्थेँ।” कानको लोती समाएर माफी मागिरहेको प्रमोद त्यही प्रमोद हो,जो मलाई अझै पनि त्यत्तिकै माया गर्छ। उसका आँखाभरी उर्लिएका मायाका समुन्द्र र निश्छलपना म प्रष्ट देखिरहेकी छु। तिमीले आज मन्दिर पनि जाने भनेकी हैनझन लङ्ग ड्राइभमा जानुपर्छ भनी अफिसमा छुट्टि समेत लिएको छु। भोलि चैँ मोमड्याडलाई भेट्नु पर्छ तिमीले। यो वर्ष लगन जुराउनु पर्छ,बुझ्यौ?” ऊ आफ्नो सूरमा भनिरहेको हुन्छ। हामी दुवै उही हौँ,पहिले सरी एक अर्कालाई औधि माया गर्ने तर एक घण्टा अगाडि र पछाडिमा म अझ बढी पाको भएकी छु। मलाई महिनाको चार दिनमा पहिलो दिन औधि पेट दुख्छ। आज पनि हल्का पेट दुखिरहेको छ। त्यसैले हामी मन्दिर वा कतै लङ्ग ड्राइभमा गैरहेका छैनौँ। आज सिर्फ बुक एक्जिबिशनमा जाने,कफि खाने र फर्कने कुरामा उसलाई राजी गराएर मात्र म उठ्छु। माया त भावना हो। भावनालाई पनि बग्न सही ठाउँ दिनुपर्ने रहेछ। बाहिर हेर्छु,एक टुक्रा घाम चउरमाथि पोखिएको छ। खुला आकाश,दिन घमाइलो छ। ताजा हावा र फक्रेका फूलहरु नयाँ बिहानीको कथा हालिरहेका छन् ।
                                                                                                        -शुषमा मानन्धरललितपुर

5 comments:

  1. la sahitye ma hajur ko kalam le ajai nirantrata liyos shuvakamana...11

    ReplyDelete
  2. त्यही प्रमोद हो,जो मलाई अझै पनि त्यत्तिकै माया गर्छ। उसका आँखाभरी उर्लिएका मायाका समुन्द्र र निश्छलपना म प्रष्ट देखिरहेकी छु। “तिमीले आज मन्दिर पनि जाने भनेकी हैन? भावना सबैको आफ्नो आफ्नो हुन्छ | तेही भएर त् केटा र केटि फरक हुन्छन त | केटा को मन र केटि को मन लाइ राम्रो संग बिश्लेय्सन् गर्नु भयो | राम्रो लग्यो तपाई लेखक को प्रस्तुति

    ReplyDelete
  3. At least it looks good story for immature teens refelction of their irresponsible character. Keep up.

    ReplyDelete
  4. Hey...! rIJAl BRO. Pragti GAre6u khusi Lagyo Yr. hamro Batch Ma koi TA ubhriyer AAyo..

    ReplyDelete
  5. Nicely presented write up! enjoyed the reading!! keep it up bro!!!

    ReplyDelete